जनपक्षीय कानून ठुला नेताबाट नै तुहाइन्छ : मन्त्री कुँवर

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले जनताको पक्षका कानूनहरु ठुला नेताहरुको दबाबका कारण तुहिने गरेको आरोप लगाएका छन् ।

सोमबार ७७ औं विश्व श्रमिक दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कुँवरले यस्तो दाबी गरेको हो । उनले भ्रष्टाचार, नागरिकता र श्रम आयोग लगायतका ऐन, नियम बनाउने ठुला नेताहरुले दबाब दिने गरेको बताए । उनले अहिलेको सरकारले पनि श्रम आयोग गठन सम्बन्धी प्रक्रिया ३ पटक मन्त्रिपरिषद्मा पु¥याउँदासमेत एजेण्डा नबनेको गुनासो गरे ।

मन्त्री कुँवरले श्रम आयोग गठन गर्नेकुरा ३ पटक मन्त्रिपरिषद्मा पठाए पनि एजेण्डा नबनाइ अहिले सामाजिक समितिमा पठाएर सरकारले अल्झाउने काम गरिरहेको भन्दै आक्रोश व्यक्त गरे । उनले आर्थिक वर्ष २०७८–०७९ मा श्रम प्रतिष्ठान बनाउने कुरा राखिएकाले अहिले श्रम आयोग गठन गर्न समस्या सिर्जना भइरहेको बताए । उनले अर्थ मन्त्रालयले यस बारेमा स्वीकृति जनाउने हो भने श्रम प्रतिष्ठान खारेज गरेर श्रम आयोग गर्न समय नलाग्ने बताए ।

मन्त्री कुँवरले कतिपय जनता सम्बन्धित कानूनहरु संसदमा प्रवेश गर्न नै नदिइकन तुहाइदिने गरेको दाबी गरे । उनले अर्थमन्त्री श्रम आयोग गठनका लागि तयार भए १० दिन भित्र नै श्रम आयोग गठन गर्ने ल्याकत मन्त्रालयले राखेको बताए । उनले सीप प्रतिष्ठान गठन गर्नेकुरा हालसम्म पनि मन्त्रिपरिषद्ले स्वीकार्न नसकेको बताए ।

मन्त्री कुँवरले मन्त्रालयले असंगठित, अनौपचारिक क्षेत्र र वैदेशिक रोजगारीमा गएका श्रमीकलाई सामाजिक सुरक्षा कोषमा आवद्धता गर्ने तयारी गरिरहेको पनि बताए । उनले आफ्नो कार्यकालमा नै यस विषयलाई टुंगोमा पु-याउने दाबीसमेत गरे । मन्त्री कुँवरले सामाजिक सुरक्षा कोषको दायराभित्र वैदेशिक रोजगारका श्रमीकहरुलाई पनि ल्याउनसके सामाजिक सुरक्षा कोषले गति लिने विश्वास व्यक्त गरे ।

उनले भने, ‘श्रमिकहरुको सेवा, सुरक्षा र सामाजिक सुरक्षाको प्रत्याभुतिको बारेमा पनि यहाँहरुले लेख्नुभएको छ । श्रम मन्त्री भएको नाताले र ३ महिना काम गर्ने अवसर पाएकाले त्यहाँ भित्र रहेका श्रमीक वर्गका सवालहरुमा मसिनो गरेर अध्ययन गर्ने प्रयास गरेको छु । हामीसँग सामाजिक सुरक्षा कोष छ । हामी छिटो भन्दा छिटो सामाजिक सुरक्षा कोषभित्र वैदेशिक श्रमीकहरुलाई पनि ल्याउने तरखरमा छौँ । मेरै कार्यकालमा असंगठित, अनौपचारिक क्षेत्र र वैदेशिक रोजगारीमा गएका श्रमीकलाई आवद्धता गर्नेछौँ ।’

मन्त्री कुँवरले श्रमीकको क्षेत्रमा अझैपनि कयौँ समस्याहरु रहेको उल्लेख गर्दै श्रमीक क्षेत्रलाई कसरी मर्यादित र व्यवस्थित बनाउने भन्ने विषय अहिलेको पेचिलो विषय बन्दै गइरहेको बताए । उनले श्रम क्षेत्रलाई नेपालमा सबैभन्दा धेरै अपमानित र अव्यवस्थित गरिएको बताए । मन्त्री कुँवरले श्रमिकहरु एकजुट हुनसके समाजमा श्रमीकमाथि हुने विभेदको अन्त्य गर्न सकिने बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button