तीनपिप्ले-बञ्चरेडाँडा सडक निर्माणको ठेक्का शैलुङ कन्स्ट्रक्सनबाट खोसियो

काठमाडौं । शारदा प्रसाद अधिकारीको शैलुङ कन्स्ट्रक्सनले निर्माणको ठेक्का पाएको नुवाकोट सडक अन्तर्गत तीनपिप्ले–बञ्चरेडाँडा सडक निर्माणको ठेक्का रद्द भएको छ। जिल्ला अदालत ललितपुरले लामो समयदेखि निर्माण नभएको उक्त सडकको ठेक्का रद्द गर्ने फैसला गरेको हो ।

न्यायाधीश सीता शर्मा अधिकारीको एकल इजलासले शैलुङ कन्स्ट्रक्सनलाई १ करोड ५५ लाख जरिवानासहित ३ वर्ष कालोसूचीमा राख्ने बाटो समेत खुलाएर उक्त सडकको ठेक्का रद्द गरेको फैसला गरेको छ ।

यसअघिको अन्तरिम आदेश खारेज गर्दै सडक विभागको पक्षमा जिल्ला अदालतले फैसला गरेको छ । गत असार ८ गते सडक विभागले सो कम्पनीलाई दिएको ठेक्का रद्द गर्ने निर्णय गरेको थियो। विभागले ठेक्का रद्द गरेपछि शैलुङ कन्स्ट्रक्सन अदालत गएको थियो।

यसअघि अदालतले सो मुद्दामा अन्तरिम आदेश दिँदै ठेक्का रद्द गर्ने निर्णय कार्यान्वयन नगर्न सडक विभागलाई निर्देशन दिएको थियो। अधिकारीको शैलुङ कन्स्ट्रक्सनले सो सडकको ८ वर्षअघि ठेक्का पाएको थियो । त्यसपछि ७ पटकसम्म सडकको म्याद थप्दासमेत सडकको काम सकिएको थिएन। सो सडकमा हालसम्म ५० प्रतिशत मात्र प्रगति भएको सडक विभागको भनाई छ।

८ वर्षअघि सडक विभागले ३१ करोड लागतमा २ वर्षमा काम सम्पन्न गर्ने गरी सम्झौता गरे पनि सो कम्पनीले ८ वर्षसम्म पनि काम सम्पन्न गर्न नसकेको हो। ७ औँ पटक थपिएको म्याद गएको चैतमा सकिएपछि सडक विभागले बाध्य भएर ठेक्का सम्झौता तोडेको थियो।

सो सडकखण्डको ८ किलोमिटर सडक फोहोर विसर्जनका लागि प्रयोग हुने गरेकोमा बाटो नबन्दा फोहोर बोकेका सवारी चालकले हैरानी पाउँदै आएका थिए। सो ठेक्का सम्झौता तोडिएसँगै विभागलाई सो सडक निर्माणका लागि नयाँ ठेक्का प्रक्रिया गर्नका लागि बाटो खुलेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Check Also
Close
Back to top button