मेलम्ची ज्यामिरेका मतदान अधिकृतलाई कारबाही गर्न एमाले माओवादीसहितका दलहरुको माग

काठमाडौं– सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाको वडा नम्बर ९ मा मतदानको क्रममा भएको घटना लोकतन्त्रको उपहास भएको कांग्रेसबाहेकका दलहरुले टिप्पणी गरेका छन्।
मेलम्ची नगरपालिका ९ ज्यामिरेस्थित गोल्मास्थान स्वास्थ्य चौकी मतकेन्द्रमा निर्वाचनका क्रममा कांग्रेसका तर्फबाट गरिएको अराजकता, ज्यादती, हुलदंगा एवं अमानवीय व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको उनीहरुले जनाएका छन्।
शनिबार नेकपा एमाले, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा माले र आँप चुनाव चिह्न भएका स्वतन्त्र उम्मेदवारले एक विज्ञप्ति जारी गर्दै कांग्रेसको यस्तो हर्कतबाट नेपालको संविधान, कानुनी मूल्य मान्यता, निर्वाचन आयोगले परिकल्पना गरेको स्वच्छ, भयरहित र स्वविवेकले मतदान गर्न पाउने आम मतदाताको अधिकार खोसिएको जनाइएको छ।
उक्त मतदान केन्द्रमा खटिएका मतदान अधिकृतलाई दलका प्रतिनिधिहरुले सो अवस्थामा मतदान प्रकृया स्थगित गर्न अनुरोध र लिखित निवेदन दिँदा समेत उनले निवेदनलाई गुमराहमा राखि मुख्य निर्वाचन अधिकृतलाई समेत गलत रिपोर्टिङ गरी मिलिभगतमा मतदान प्रकृया जबरजस्ती जारी राखेको घटनाले आफूहरु आश्चर्यमा परेको भन्दै उनीहरुले बिरोध जनाएका छन्।
कांग्रेसबाट परिचालित अराजक गतिविधिका मुख्य दोषीहरुलाई अबिल्मब कानुनी कारबाही गरी जनताको जिउधनको सुरक्षाको ग्यारेन्टी गर्न प्रशासन समक्ष उनीहरुल माग गरेका छन्।
मतदान प्रकृयालाई जबरजस्ती जारी राख्ने तथा निर्वाचन आचार संहिता २०७८ को भावना विपरित कार्य गर्ने सो मतदान कन्द्रमा मतदान अधिकृतलाई हदैसम्मको कार्बाही गर्न उनीहरुले माग गरेका छन्।