जीन सिक्वेन्सिङबाट कसरी पत्ता लगाइन्छ कोरोनाको ओमिक्रोन भेरियन्ट?

काठमाडौं- कोरोना भाइरसको नयाँ भेरियन्ट पत्ता लगाउने विधि हो, जीन सिक्वेन्सिङ। भाइरसको जेनेटिक (आणुवांशिक) बनावटलाई डिकोट गर्ने परीक्षण नै जीन सिक्वेन्सिङ हो।

जीन सिक्वेन्सिङबाट नै भाइरसमा भएको म्युटेनस (उत्परिवर्तन) पत्ता लगाउन सकिन्छ। नेपालमा दुई जनामा भेटिएको ओमिक्रोन भेरियन्ट पनि जीन सिक्वेन्सिङबाटै पुष्टि भएको हो। टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको जीन सिक्वेन्सिङबाट मंसिर १९ गते राति ओमिक्रोन भेरियन्ट पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

जीन सिक्वेन्सिङका लागि प्रयोगशालाले निश्चित रणनीति र मापदण्ड निर्धारण गरेको छ। पीसीआर परीक्षणका क्रममा एस जीन नेगेटिभ आएका नमूनाको मात्र जीन सिक्वेन्सिङ गर्ने गरिएको प्रयोगशालाका सूचना अधिकारी राजेश कुमार गुप्ताले बताए।

उनले भने, ‘सबै नमूनाको जीन सिक्वेन्सिङ गर्नु पर्दैन। यसको पनि निश्चित मापदण्डहरु छन्। मापदण्डभित्र परेका नमूनाको मात्र जीन सिक्वेन्सिङ गरिन्छ। जीन सिक्वेन्सिङ गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला सक्षम छ।’

स्वास्थ्य सेवा विभागले सबै सीमा नाकामा कोरोना पोजेटिभ आएका नमूनाहरु प्रयोगशालामा पठाउन परिपत्र गरिसकेको छ। गुप्ताका अनुसार देशभरबाट संकलन हुने पोजेटिभ नमूनाको जीन सिक्वेन्सिङ दुई चरणमा गरिन्छ।

पहिलो, ‘पीसीआर परीक्षण गरिन्छ।’ दोस्रो, ‘पीसीआरमा कोरोना पोजेटिभ र एस जीन नेगेटिभ आएको हुनुपर्दछ।’

जीन सिक्वेन्सिङमा चार वटा जीन परीक्षण गर्ने गरिएको गुप्ताले बताए। ती हुन्, एस जीन, आरडीआरपी जीन, ओआरएफ जीन र एन जीन।

उनले भने, ‘सुरुको कोरोना भाइरसमा सबै जीन पोजेटिभ आउँथ्यो। एस जीन पनि पोजेटिभ नै आउँथ्यो। तर ओमिक्रोन भेरियन्टमा एस जीन म्युटेसन भएकाले यो नेगेटिभ आउँछ। पीसीआर पोजेटिभ र एस जीन नेगेटिभ आएको नमूनाको मात्र जीन सिक्वेन्सिङ हुन्छ। यो मापदण्डमा पर्ने नमूना थोरै हुन्छ। त्यसैले जीन सिक्वेन्सिङ गर्न हामीलाई गाह्रो छैन।’

हाल ओमिक्रोन भेरियन्टको एस जीनमा म्युटेसन भएको छ। एस जीन भनेको भाइरसको बाहिरी सतह हो। जीन सिक्वेन्सिङमा एस जीनमा कहाँ म्युटेसन भएको छ भनेर हेरिन्छ। भाइरसमा हुने यही म्युटेसनका कारण नै डेल्टा, ल्याम्डा, अल्फा जस्ता भेरियन्ट देखिएको गुप्ता बताउँछन्।

जीन सिक्वेन्सिङबाट ओमिक्रोन भेरियन्ट मात्र नभइ भाइरसमा हुने कुनै पनि उत्परिवर्तन पत्ता लगाउन सकिने उनले बताए।

‘जीन सिक्वेन्सिङबाट ओमिक्रोन मात्र होइन। नयाँ कुनै म्युटेसन भएको छ भने पनि पत्ता लगाउन सकिन्छ।’ उनले भने, ‘जीनको सिक्वेन्सिङ मूल भाइरससँग म्याच गरिन्छ। म्याच गरेपछि नै कहाँ कहाँ म्युटेसन छ भनेर पोइन्ट गरिन्छ। यसकै आधारमा विश्व स्वास्थ्य संगठन डब्लुएचओ ले म्युटेसन भएर बनेको कुन भेरियन्ट हो भनेर नामाकरण गर्दै आएको छ।’

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले पछिल्लो दुई महिनादेखि जीन सिक्वेन्सिङ गर्दै आएको छ। पीसीआर संकलनदेखि जीन सिक्वेन्सिङ गरेपछि रिपोर्ट आउन ७ देखि १० जति लाग्ने उनले बताए।

हाल दैनिक २ सयदेखि ३ सय जना व्यक्ति पीसीआर परीक्षणका लागि प्रयोगशाला पुग्ने गरेका छन्। जसमा लक्षण सहितका बिरामीभन्दा पनि यात्राका लागि रिपोर्ट चाहिनेहरु पुग्ने धेरै छन्। दैनिक दुई हजार जनाको पीसीआर परीक्षण गर्ने प्रयोगशालाको क्षमता छ। आवश्यकता र समय अनुसार क्षमता बढाउँदै लैजान सकिने प्रयोगशालाले जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button