एमाले महाधिवेशन : देशभरबाट ८५ प्रतिशत प्रतिनिधि चयन

काठमाडौं- नेकपा (एमाले)को आगामी मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा आयोजना हुने दशौं राष्ट्रिय महाधिवेशनका लागि ८५ प्रतिशतको हाराहारीमा प्रतिनिधि निर्वाचित भएका छन्।

शनिबार एकै दिन देशभर नै प्रतिनिधि छनोटको काम सुरु भएको थियो। एमाले केन्द्रीय प्रचार विभाग प्रमुख योगेश भट्टराईका अनुसार अधिकांश जिल्लामा सर्वसम्मतिले प्रतिनिधि चयन भएका छन्।

पार्टीले निर्धारण गरेको मापदण्डअनुसार खुल्ला, महिला र उत्पीडित समुदायबाट प्रतिनिधिको छनोट गरिएको छ। अहिलेसम्म केन्द्रीय विभाग, प्रदेश कमिटी, जिल्ला कमिटी, विशेष जिल्ला कमिटी, जनसंगठन र प्रवासबाट समेत गरी ८५ प्रतिशतको हाराहारीमा प्रतिनिधि निर्वाचित भएका छन्। बाँकी रहेका ठाउँमा पनि कात्तिक ३० गतेसम्म प्रतिनिधि चयन गरी केन्द्रमा प्रतिनिधिको सम्पूर्ण अभिलेख पठाउन निर्देशन दिइसकिएको छ।

एमालेका अनुसार प्रदेश १ मा पाँचथर, इलाम, झापा, संखुवासभा, तेह्रथुम, मोरङ, धनकुटा, सोलुखुम्बु, ओखलढुंगा, उदयपुर, खोटाङ र भोजपुर, बागमती प्रदेशमा दोलखा, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, नुवाकोट, धादिङ, चितवन र मकवानपुर, उपत्यका विशेष कमिटीअन्तर्गत पेसागत, युवा विद्यार्थी, मजदुर र उद्योग व्यवसाय विशेष जिल्ला कमिटी, गण्डकी प्रदेशमा गोरखा, लमजुङ, नवलपुर, तनहुँ, कास्की, स्याङजा, पर्वत, म्याग्दी, बागलुङ, मुस्ताङ र मनाङबाट प्रतिनिधि चयन भइसकेका छन्।

लुम्बिनी प्रदेशमा गुल्मी, अर्घाखाँची, पाल्पा, रुपन्देही, कपिलवस्तु, दाङ, प्युठान, रुकुम, रोल्पा, बाँके र बर्दिया, कर्णाली प्रदेशमा हुम्ला, डोल्पा, मुगु, कालिकोट, जुम्ला, जाजरकोट, रुकुमपश्चिम, सल्यान र सुर्खेत तथा सुदूरपश्चिम प्रदेशमा दार्चुला, बैतडी, बझाङ र डडेलधुरामा पनि प्रतिनिधि चयनको काम सकिएको छ।

कञ्चनपुर, कैलाली, अछाम, डोटी र बाजुराका केही क्षेत्रमा प्रक्रिया प्रतिनिधि चयनको लागि प्रक्रिया जारी रहेको छ। केन्द्रीय सल्लाहकार परिषद्, जनसंगठन, प्रदेश कमिटीहरु, प्रदेश सम्पर्क कमिटीहरु र प्रवास समन्वय कमिटीहरुबाट पनि प्रतिनिधि चयन भइसकेका छन् । पार्टीका केन्द्रीय विभागहरु र केन्द्रीय कार्यालयबाट प्रतिनिधि चयन सम्पन्न भइसकेको एमालेले जानकारी दिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button