भारतविरुद्ध पाकिस्तानको ऐतिहासिक जित, भारत पहिलोपटक १० विकेटले पराजित

पाकिस्तानले आइसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा विजयी सुरुआत गरेको छ। दुबईमा आइतबार राति चिरपरिचित प्रतिद्वन्दी भारतलाई १० विकेटले पराजित गर्दै पाकिस्तानले सुखद सुरुआत गरेको हो।

यससँगै पाकिस्तानले विश्वकपमा भारतमाथि पहिलो पटक ऐतिहासिक जित निकालेको छ। यसअघि पाकिस्तानले विश्वकपमा भारतलाई हराउन सकेको थिएन।

त्यस्तै भारत पहिलो पटक टी-ट्वान्टी अन्तर्राष्ट्रियमा १० विकेटले पराजित भएको छ। भारतले दिएको १ सय ५२ रनको लक्ष्य पाकिस्तानले १७ ओभर ५ बलमा बिना विकेटको क्षतीमा पूरा गर्‍यो।

पाकिस्तानको जितमा कप्तान बाबर आजम र मोहमद रिजवानले अर्धशतकीय इनिङ्स खेले। रिजवानले अविजित रहँदै सर्वाधिक ७८ रन बनाए। कप्तान आजम ६८ रनमा अविजित रहे।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ७ विकेट गुमाएर १ सय ५१ रन बनाएको थियो। भारतका लागि कप्तान विराट कोहलीले ५७ रनको अर्धशतकीय इनिङ्स खेले।

ऋषव पन्त ३९ रनमा आउट हुँदा सूर्यकुमार यादवले ११ रन बनाए। रविन्द्र जडेजाले १३, हार्दिक पान्डयले ११, केएल राहुल ३ रन जोड्दा रोहित शर्मा शून्य रनमा आउट भए।

भुवनेश्वर कुमारले अविजित ५ रन जोड्दा मोहमद शामी शून्य रनमा अविजित रहे। पाकिस्तानका शाहिन शाह अफ्रिदीले ३ विकेट लिए।

हसन अलिले २ तथा शादब खान र हरिस राउफले १/१ विकेट लिए। जितसँगै पाकिस्तानले पहिलो खेलमै महत्वपूर्ण २ अंक जोडेको छ।

पाकिस्तान समूह २ को शीर्ष स्थानमा रहेको छ। उपाधि दाबेदार मानिएको भारतले भने हारबाट प्रतियोगिताको सुरुआत गरेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button