प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डल ‘वर्ल्ड लिडर समिट’मा सहभागी हुने

काठमाडौं- ग्लास्कोमा आयोजना हुने जलवायु परिवर्तनसम्बन्धी ‘वर्ल्ड लिडर समिट’मा प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा प्रतिनिधिमण्डल सहभागी हुने भएको छ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री देउवाको नेतृत्वमा प्रतिनिधिमण्डल गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।
बैठकले साफ च्याम्पियनसिपमा उपविजेता बनेर नेपाल फर्किएको नेपाली फुटबल टोलीका खेलाडीहरुलाई प्रतिव्यक्ति पाँच लाख रुपैयाँ दिने निर्णय गरेको छ। त्यस्तै फुटबल टोलीका प्रशिक्षकहरुलाई प्रतिव्यक्ति तीन लाख रुपैयाँ प्रोत्साहन रकम उपलब्ध गराउने निर्णय गरेको प्रवक्ता कार्कीले बताए।
बैठकले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन नियमावली २०७८ लाई स्वीकृत गर्ने निर्णय गरेको प्रवक्ता कार्कीले बताए। उनले मोहम्मद जयन्ती १४९६ को अवसरमा कात्तिक २ गते मुस्लिम समुदायलाई सार्वजनिक विदा दिने निर्णय गरेको बताए।
त्यस्तै मन्त्रिपरिषद्को बैठकले अबुधाबी डाइलगको छैटौं मन्त्रीस्तरीय परामर्श बैठकमा सहभागी हुन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीलाई स्वीकृत दिने, विभिन्न मन्त्रालयमा अस्थायी दरबन्दी सिर्जना गर्न स्वीकृत दिने निर्णय गरेको सरकारका प्रवक्ता कार्कीले पत्रकार सम्मेलनमार्फत् जानकारी दिए।
बैठकले लोक सेवा आयोग तथा बढुवा समितिको सिफारिसबमोजिम राजपत्रांकित प्रथम श्रेणीका विभिन्न पदहरुमा नियुक्ति गर्ने निर्णयसमेत गरेको छ।