फुट र विभाजनको विपक्षमा उभिन जनप्रतिनिधिहरुलाई एमालेको अपिल
काठमाडौं : नेकपा (एमाले)ले फुट र विभाजनको विपक्षमा उभिन देशैभरका आफ्ना जनप्रतिनिधिहरुलाई अपिल गरेको छ।
महासचिव ईश्वर पोखरेलले आइतवार एक प्रेस वक्तव्य जारी गर्दै देशैभरका एमालेका जनप्रतिनिधिहरुलाई अन्य पार्टीको गलत उक्साहटमा नलाग्न र पार्टीको एकताको पक्षमा दृढतापूर्वक उभिएर विभाजनलाई बल पुग्ने कुनै सनाखतमा भाग नलिन अपिल गरेका हुन्
विज्ञप्तिमा भनिएको छ, ‘नेकपा (एमाले)को विभाजनको लागि जानी जानी अलोकतान्त्रिक अध्यादेश ल्याएर नेकपा (एमाले)मा ठूलो विभाजन होस् भन्ने कामनासाथ गरिएको हर्कत पूरा नभएपछि २१ दिनको समयावधिभित्र एमालेका प्रदेशसभा सदस्य र स्थानीय जनप्रतिनिधिहरुलाई नेकपा (एमाले)बाट चोइटिएर बनेको पार्टीमा लाग्नको लागि केही अन्य पार्टीका नेता कार्यकर्ताहरुले समेत देशैभर प्रलोभन दिने, धम्क्याउने जस्ता कृयाकलापहरु गरिरहेको विषयमा हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ। अन्य पार्टीको यो हर्कतले एमालेको विभाजन कसले चाहिरहेको छ भन्ने छर्लङ्ग भएको छ।’
एमालेले आफ्नो आन्तरिक मामिलामा आँखा नलाउन अन्य राजनीतिक दलहरुलाई चेतावनी समेत दिएको छ।