नेपाल-भारत पहिलो मैत्रीपूर्ण खेल : १-१ गोलको बराबरी, अर्को खेल आइतबार

काठमाडौं । नेपाल-भारत पहिलो मैत्रीपूर्ण खेल बराबरीमा सकिएको छ। बिहीबार दशरथ रंगशालामा भएको खेलमा नेपाल र भारतले १-१ गोलको बराबरी खेलका हुन्।

सुरुवाती गोल गरेको नेपाल अग्रता जोगाउन नसक्दा बराबरीमा चित्त बुझाउन बाध्य भयो। नेपालको लागि अन्जन बिष्टले गोल गर्दा भारतका लागि अनिरुद्ध थापाले बराबरी गोल गरे।

खेलमा अग्रता भने नेपालले बनायो। नेपालका अन्जन बिष्टले खेलको ३६ मिनेटमा गोल गर्दै सुरुवाती अग्रता दिलाए। भारतका डिफेण्डर चिङ्लेन्साना सिङ कोन्साम र गोलकिपर गुरप्रीत सिंहको समन्वय अभावमा अन्जनले बल खोस्दै खाली पोस्टमा गोल गरेका हुन्।

दोस्रो हाफको ६१ मिनेटमा भारतका अनिरुद्ध थापाले खेल बराबरीमा पुर्‍याए। भारतका कप्तान सुनिल क्षेत्रीले प्रहार गरेको बल नेपालका कप्तान तथा गोलरक्षक किरणकुमार लिम्बूले पन्च गरे पनि गोल लाइनबाट अनिरुद्धले जाली चुमाएका हुन्।

पहिलो हाफमा नेपालले गोलसँगै बल पोजिसनमा समेत पकड जमाएको थियो । भारतले पहिलो हाफमा कुनै पनि अवसर बनाउन सकेन। नेपालले भने दुई अवसर बनायो। यता, दोस्रो हाफमा भने भारतले सुरुवातमै तीन खेलाडी परिवर्तन गर्दै खेल आफ्नो नियन्त्रणमा लियो। बाँकी समयमा दुवै टोलीले अवसर बनाए पनि कुनै गोल हुन सकेन।

खेलमा नेपालका नितिन थापाले डेब्यु गरे। च्यासल क्लब र पोखरा थण्डर्सबाट खेलेका नितिनलाई प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले खेलको ८५ मिनेटमा तेज तामाङको स्थानमा मैदानमा पठाएका हुन्। नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण खेल आइतबार हुनेछ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button