NEWS

सभामुख सापकोटा आईपीयू सम्मेलनबाट स्वदेश फिर्ता

काठमाडौं । स्पेन भ्रमणमा गएको सभामुख अग्नी सापकोटा नेतृत्वको नेपाली टोली आज स्वदेश फर्किएको छ ।

अन्तर व्यवस्थापिका संघ (आईपीयू) को १४३औँ सम्मेलनमा सहभागी हुन सभामुख सापकोटा नेतृत्वको नेपाली प्रतिनिधि मण्डल स्पेनबाट आज विहान ८ बजे स्वदेश फर्किएको हो ।

स्पेनको म्याड्रिडमा नोभेम्बर २६ देखि ३० सम्म चलेको सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डल यही मंसिर ८ गते स्पेन प्रस्थान गरेको थियो ।

सम्मेलनबाट फर्किएलगत्तै सभामुख सापकोटाले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकारहरुलाई प्रतिक्रिया दिंदै आईपीयूको १४३औं सम्मेलन बहुआयमिक रुपमा महत्वपूर्ण रहेको बताए । सम्मेलनले दुरगामी महत्वका निष्कर्षहरु निकालेको उनले जानकारी दिए । १२० राष्ट्र सहभागी सम्मेलनमा नेपालको संविधान निर्माणदेखि समावेशी र समानुपातिक प्रतिनिधित्वका बारेमा प्रकाश पारेको सभामुख सापकोटाले जानकारी दिए ।

सम्मेलनका क्रममा सभामुख सापकोटाले २८ नोभेम्बरमा आईपियू सभालाई सम्बोधन गरेका थिए । उनले २८ नोभेम्बरमै असंलग्न आन्दोलनको सञ्जाल (नाम) को बैठकलाई सम्बोधन गरेका थिए ।

नेपाली संसदीय प्रतिनिधिमण्डलमा सभामुख सापकोटासहित प्रतिनिधिसभा सदस्य देवप्रसाद गुरुङ, लक्ष्मीकुमारी चौधरी तथा राष्ट्रियसभा सदस्य प्रमिला कुमारी र अगम प्रसाद वान्तवा राई सहभागी थिए ।

प्रतिनिधिमण्डलमा संघीय संसदका महासचिव डा भरतराज गौतम, प्रतिनिधसभाका सचिव गोपालनाथ योगी, सभामुखका प्रमुख स्वकीय सचिव अर्जुन खत्री के.सी. र कम्प्युटर अधिकृत सुरेशराज सेढाईँ सहभागी भएका थिए ।

WebDurbar

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button