सूचीकरणमै नरहेकाे ‘मधेशी भाषा’मा शपथ गराइएपछि आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौँ । संघीय संसद सचिवालयले मधेशी भाषामा सपथ लिन मान्यता दिएको भन्दै मधेशी आयोगले सचिवालयलाई स्पष्टीकरण सोधेको छ ।
प्रतिनिधि सभाका जेष्ठ सदस्य पशुपतिशमशेर जबराले बिहीबार नेपाली भाषामा गराएको शपथलाई जनमत पार्टीका अध्यक्ष डा. सीके राउतसहितका केही सांसदले सूचीकरणमै नरहेको ‘मधेशी भाषा’मा लिएका थिए । उक्त विषयमा मधेशी आयोगले सचिवालयलाई स्पष्टीकरण सोधेको हो ।
भाषा आयोग तथा मधेशी आयोगले सूचीकरण नै नगरेको ‘मधेशी भाषा’ मा शपथ लिन मान्यता दिएको भन्दै आयोगकी उपसचिव सविता डंगोलले संसद सचिवालयलायई स्पष्टीकरण सोध्दै शुक्रबार पत्र पठाएकी छन् ।
‘हालसम्म भाषा आयोगबाट प्रकाशित ‘मधेशी भाषा’ सुचिकृत नभएको देखिएकोले सो भाषामा प्रतिनिधि सभाका सदस्यहरुले औपचारिक कार्यक्रममा शपथ लिनु गम्भीरताको विषय रहेको साथै नेपालमा विद्यामान रहेका सूचीकृत अन्य भाषाहरुमाथि नकारात्मक प्रभाव परेको देखिन्छ,’ संसद सचिवालयको उक्त पत्रमा भनिएको छ, ‘सो सम्बन्धमा यस आयोगलाई श्री संघीय संसदको सचिवालयले कुन आधारमा मधेशी भाषामा शपथ लिन मान्यता दिएको भनी स्पष्ट हुने गरी जानकारी गराइदिन हुन निर्देशानुसार अनुरोध गरिएको छ ।’
शपथ ग्रहणपछि दर्जनौ संघसंस्थाले आयोगमा फोन गरेर मधेशी भाषा औपचारिक रुपमा सूचीकृत नरहेकाले उक्त शपथ खारेजीको माग गरेको समेत आयोगले जनाएको छ ।
यही विषयमा बिहीबार साँझ मधेशका केही जिल्लामा सीके राउतसहित मधेशी भाषमा शपथ लिनेहरुको शपथ खारेजीको माग गर्दै प्रदर्शन भएको थियो ।