NEWS

संघका उम्मेदवारले तीन र प्रदेशकाले एउटा सम्पर्क कार्यालय खोल्न पाउने

काठमाडौं– निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्यका लागि ३ वटा र  प्रदेश सभा सदस्य उम्मेदवारका लागि १ वटामात्र सम्पर्क कार्यालय खोल्न दिने बताएको छ। आयोगले मंगलबार एक विज्ञप्ति जारी गर्दै उक्त प्रयोजनका लागि निर्देशन पनि जारी गरेको छ।

’प्रतिनिधि सभा सदस्य निर्वाचन प्रणालीतर्फ प्रतिनिधि सभा सदस्य पदको उम्मेदवारले आफ्नो निर्वाचन क्षेत्रमा प्रदेश निर्वाचन क्षेत्रलाई समेट्नेगरी बढीमा तीनवटा सम्पर्क कार्यालय खोल्न सक्ने, प्रदेश सभा सदस्य निर्वाचन प्रणालीतर्फ प्रदेश सभा सदस्य पदको उम्मेदवारले १ वटा सम्पर्क कार्यालय खोल्न सक्ने, प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य समानुपातिकतर्फ बन्दसूचीमा उम्मेदवारी पेश गरेका दलले प्रतिनिधि सभा सदस्यको निर्वाचन क्षेत्रमा १ वटा सम्पर्क कार्यालय खोल्न सक्नेछन्,’ आयोगको विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्तिमा भएका ७ बुँदा:

१.प्रतिनिधि सभा सदस्य निर्वाचन प्रणालीतर्फ प्रतिनिधि सभा सदस्य पदको उम्मेदवारले आफ्नो निर्वाचन क्षेत्रमा प्रदेश निर्वाचन क्षेत्रलाई समेटने गरी बढीमा तीनवटा सम्पर्क कार्यालय खोल्न सक्ने।

२.प्रदेश सभा सदस्य निर्वाचन प्रणालीतर्फ प्रदेश सभा सदस्य पदको उम्मेदवारले एउटा सम्पर्क कार्यालय खोल्न सक्ने।

३.प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य समानुपातिकतर्फ बन्दसूचीमा उम्मेदवारी पेश गरेका दलले प्रतिनिधि सभा सदस्यको निर्वाचन क्षेत्रमा एकवटा सम्पर्क कार्यालय खोल्न सक्ने।

४.प्रकरण नं. १, २ र ३ बमोजिम कार्यालय स्थापना गर्दा सम्भव भएसम्म एउटै स्थान प्रयोग गर्ने।
५.प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यतर्फ उम्मेदवारी दिई निर्वाचन चिन्ह प्राप्त गरी सकेपछि त्यस्ता उम्मेदवारले अन्य कुनै उम्मेदवारलाई समर्थन गरेको भएमा त्यस्ता उम्मेदवारले सम्पर्क कार्यालय स्थापना गर्न नपाउने।

६.प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको लागि घर भाडामा लिई सम्पर्क कार्यालय स्थापना गरेको भएमा त्यस्तो घरको घर भाडा उम्मेदवारको निर्वाचन खर्चमा समावेश गर्ने।

७.राजनीतिक दल वा उम्मेदवारले सम्पर्क कार्यालय स्थापना गरेको जानकारी निर्वाचन अधिकृतको कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र जिल्ला निर्वाचन कार्यालयमा तुरुन्त उपलब्ध गराउने।

WebDurbar

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button