रविको नागरिकता र राहदानी विवाद : प्रहरीले छानबिन थाल्ने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता र राहदानी विवादबारे प्रहरीले छानबिन थाल्ने भएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले छानबिन गर्न भन्दै पत्राचार भएपछि महागनरीय प्रहरी परिसर काठमाडौँले छानबिन अघि बढाएको हो। हाल लामिछाने चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा विजयी भएका छन् ।
यसअघि रविले विदेशी नागरिकता लिएर पनि नेपाली नागरिकता नत्यागी राहदानीसमेत निकालेको विषयमा निर्वाचनअघि नै उजुरी परेको थियो।
विदेशी नागरिकता लिएपछि फेरि नेपाली नागरिकता लिनको लागि विदेशी नागरिकता त्याग्नु पर्ने प्रावधान छ। तर, लामिछानेले अमेरिकी नागरिकता लिएको र पछि अमेरिकी नागरिकता त्यागेपछि पुनः नेपाली नागरिकता लिन प्रशासनमा निवेदन दिनु पर्नेमा त्यसो नगरेको भन्दै उजुरी परेको थियो।
रद्द भएको नागरिकताकै आधारमा पार्टी दर्ता गरेको, चुनाव समेत लडेको भन्दै निर्वाचन आयोगमा उजुरी परेको थियो। आयोगले भने कारबाहीका लागि योग्य नदेखिएको भन्दै प्रक्रिया अगाडि बढाएको थिएन। त्यसपछि गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यलयमा उजुरी परेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले छानबिन गरेर त्रुटी देखिए कारबाही गर्न भन्दै प्रहरीलाई पत्राचार गरेको थियो।