माओवादी केन्द्र प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा

काठमाडौँ । नेकपा माओवादी केन्द्रले आफ्नो पार्टी प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा रहेको जनाएको छ । पार्टीको चुनावी घोषणापत्र सार्वजनिक गर्दैै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार यस्तो बताएका हुन् ।
‘नीतिगत विषयमा माओवादी केन्द्र मात्रै त्यस्तो पार्टी हो जसले यो संविधानलाई निरन्तर सुधार गर्नु आवश्यक छ भन्दै आएका छौँ,’ अध्यक्ष दाहालले भने, ‘शासकीय स्वरुपमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हामीले भनेका थियौँ । यसलाई भविष्यमा संविधानमा व्यवस्था गर्ने भनेर थाति राखेका थियौँ । अहिलेको निर्वाचन प्रणालीअनुसार सुधार गर्नुपर्ने बताएका थियौँ ।’
माओवादीको प्रतिवद्धता पत्रमा स्वायत्त क्षेत्र, विशेष क्षेत्र र संरक्षित क्षेत्र बनाउनु पर्ने कुरालाई यसपटकको प्रतिवद्धता पत्रमा राखेको उनले बताए ।
‘राजनीतिमा २०४७ पछि सार्वजनिक पदमा रहेका सबैको सम्पत्ति छानविन गर्ने विषयलाई प्रतिवद्धता पत्रमा राखेका छौँ,’ उनले भने, ‘अबको मुख्य काम आर्थिक क्रान्ति, आर्थिक समृद्धि र सुशासन नै भएको उनले बताए । व्यापार घाटा नियन्त्रणका लागि राष्ट्रिय व्यापार प्रतिष्ठान कार्यान्वयनमा ल्याउनेलगायतका विषय अघि बढाएको पनि उनले बताए ।’
स्वास्थ्य र शिक्षा राज्यको जिम्मेवारी हुने भन्दै अघि बढाएको उनले बताए । वैदेशिक सैन्य गठबन्धनबाट देशलाई मुक्त गरिने प्रतिवद्धता पनि उनले जनाए ।