प्रधानमन्त्री देउवा विरुद्धको उजुरी खारेज, उम्मेदवारी कायमै

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको उम्मेदवारी कायमै रहेन भएको छ । प्रधानमन्त्री देउवाको उम्मेदवारी विरुद्ध परेको उजुरी मुख्य निर्वाचन अधिकृतको कार्यालयले खारेज गरिदिएको छ ।
मतदाता नामावलीमा र नागरिकतामा देउवाको जन्ममिति फरक रहेको भन्दै उजुरी परेको थियो । तर मतदाता परिचयपत्रमा भएको जन्ममितिमा प्रिन्ट मिस्टेक भएको पाइएको डडेल्धुराका मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले जानकारी दिएका छन् ।
वाग्लेले नागरिकताको प्रमाणपत्र र मतदाता परिचयपत्रमा फरक-फरक जन्ममिति रहेको भन्दै परेको उजुरी छानबिन गर्दा सामान्य त्रुटि फेला परेको भन्दै उम्मेदवारी कायमै गर्ने निर्णय भएको जानकारी दिए ।
डडेल्धुराबाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दिएका प्रधानमन्त्री देउवाको नागरिकता र मतदाता परिचय पत्रमा जन्ममिति फरक रहेको भन्दै सोमबार उनका प्रतिस्पर्धी उम्मेदवार कर्ण मल्लले जिल्ला स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका थिए ।
देउवाको नागरिकतामा जन्ममिति २००३ साल रहेको र मतदाता नामावलीमा २००२ साल रहेको देखिए पनि जन्म महिना र गते एउटै देखिएकोले सामान्य त्रुटीका रूपमा मात्र लिइएको मुख्य निर्वाचन अधिकृत वाग्लेले जानकारी दिएका छन् ।