NEWS

नगर प्रहरीमाथि आक्रमण गर्नेलाई पक्राउ गर्न महानगरको पत्राचार

थापाथलीमा अनधिकृत संरचना हटाउन जाँदा नगर प्रहरीमाथि सांघातिक आक्रमण गर्नेहरुको नाम खुलाएर कानुनी कारवाहीका लागि काठमाडौँ महानगरपालिकाले प्रहरी परिसर टेकुलाई पत्राचार गरेको छ।

काठमाडौँ महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले घटनाका विषयमा प्रेस विज्ञप्ति जारी गर्दै यस विषयमा जानकारी गराउनुभएको हो।

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको अनुरोधमा बागमती किनारामा रहेको सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका अनधिकृत संरचना भत्काउन जाने क्रममा महानगरीय प्रहरी बलका प्रमुखसहितका प्रहरी घाइते भएका छन्।

नगर प्रहरी शर्मिला बोगटीलाई सरीर बन्धक बनाई गम्भीर रुपमा घाइते बनाएका कारण उहाँसहित ३ जना प्रहरीको नर्भिक अस्पतालमा आइसीयुमा उपचार भइरहेको प्रवक्ता मानन्धरले जानकारी दिनुभयो।

कर्तव्यका सिलसिलामा प्रहरीमाथि आक्रमण हुन दुःखद कुरा हो। यस कार्यमा सम्लग्नमाथि कानुनी कारवाही गर्न सम्बन्धित निकाय र पदाधिकारीलाई महानगरको अनुरोध छ। प्रवक्ता मानन्धर भन्नुहुन्छ, ‘गैरकानुनी रुपमा निर्माण भएका अनधिकृत संरचना हटाउने कार्यमा सबै पक्षबाट सहयोग, सहकार्य र समन्वय हुने विश्वाश गरेका छौँ।’

WebDurbar

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button