‘देशले यतिखेर साझा सहमतिको विन्दु खोजेको छ’

भक्तपुर– नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशले यतिखेर साझा सहमतिको विन्दु खोजेको बताएका छन् ।
भक्तपुरको सूर्यविनायक नगरपालिका-५ सूर्यनगरमा सूर्यनगर टोल विकास समाजले आज आयोजना गरेको नवनिर्वाचित प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यलाई बधाई, शुभकामना तथा चियापान कार्यक्रममा उनले देशले एकता र साझा सहमतिको विन्दु खोजेको बताए ।
जनताले निर्वाचित गरेका नेताहरूले आफूप्रति इमान्दारिता र जनताप्रति बफादार भएर लाग्नुपर्ने औँल्याउँदै उनले भने , ‘हामी आफ्ना आफ्ना खुबी, क्षमता, वाक कटुता, व्यक्तिको छाप प्रयोग गरी राजनीतिक खेलको मैदानबाट उत्रिएका छौँ, जित्नु ठूलो कुरा होइन, जनतासँग हामीले जुन प्रतिबद्धता व्यक्त गरेका छौँ, त्यो पूरा गर्न इमानदार र जनताप्रति बफादार भएर काम गर्नुपर्छ ।’
चुनावमा गरेका प्रतिबद्धता पूरा गर्न जनतासँग जोडिएर अगाडि बढ्नुपर्नेमा जोड दिँदै अध्यक्ष नेपालले जनताको आवाज सुन्ने, उनीहरुको पीडालाई सम्बोधन गर्ने, जनताको असीमिति चाहना, इच्छा र माग पूरा गर्न तथा अत्यावश्यक चाहनालाई पूरा गर्ने काममा लाग्नुपर्नेमा जोड दिए । जनताले मन पराएका छैनन् भने नेताहरुले फकाउन सक्नुपर्ने उल्लेख गर्दै अध्यक्ष नेपालले जनतालाई फकाउन, मिलाउन र साथमा लिएर समस्या समाधानमा लाग्नुपर्ने बताए ।