कर्णालीका बाढी पहिरो पीडितको तत्काल उद्धार गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले कर्णाली प्रदेशका मुगु, कालिकोट र हुम्लामा बाढी र पहिरोबाट घाइते भएकाको उद्धार तत्काल गर्न गृह प्रशासन, सम्बन्धित जिल्ला प्रशासन र सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।
गृहमन्त्री खाणले तत्कालका लागि जिल्लामा रहेको स्रोत साधनको उपयोग गरेर घाइतेको उद्धार, उपचार र पुनःस्थापना गर्नु पर्ने भए पुनस्थापना गर्न र थप स्रोत साधनको आवश्यकता पर्ने भए मन्त्रालयमा लेखि पठाउन निर्देशन दिएका हुन् ।
गृहसचिव विनोदप्रकाश सिंह, मन्त्रालयका सुरक्षा समन्वय महाशाखा प्रमुख फणिन्द्रमणि पोखरेल, नेपाल प्रहरीका कर्णाली प्रदेशका प्रमुख प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेल र सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई गृहमन्त्री खाणले निर्देशन दिएका हुन् । उनले सरकारको मुख्य दायित्व नागरिकको जीवन रक्षा भएकालेले संवेदनशील भएर विपद् प्रभावितको उद्धार र उपचारमा लाग्न पनि भनेका छन् ।
सुरक्षाकर्मीको टोली घटनास्थलमा पुगिसकेको नेपाल प्रहरीका कर्णाली प्रदेश प्रमुख डिआइजी पोखरेलले जानकारी दिएका छन् । सुरक्षाकर्मीले बेपत्ताहरूको खोजीकार्य जारी राखेको, पहिरो तिला नदीसम्म पुगेको उनले बताए ।
घाइतेहरूलाई थप उपचारका लागि नेपालगञ्ज लैजान हेलिकोप्टर घटनास्थलमा लैजाने तयारी भइरहेको डिआइजी पोखरेलले बताएका छन् ।