आचारसंहिता मिच्दै उम्मेदवार र जनप्रतिनिधि

हेटौँडा । निर्वाचन आयोगको निर्वाचन आचारसंहिताउल्लङ्घन गर्न उम्मेदवार र जनप्रतिनिधि नै सक्रिय बनेका छन् ।
४ मङ्सिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मुखमा मकवानपुरका उम्मेदवार मतदातालाई प्रभावित पार्ने काममा सक्रिय बनेका छन् भने जनप्रतिनिधि आफ्ना निकट उम्मेदवारलाई सहयोग गर्दै हिँड्न सुरु गरेका छन् ।
जिल्लाको क्षेत्र नम्बर-२ को प्रदेशसभा (ख)का उम्मेदवार इन्द्रबहादुर बानियाँले विकट गाउँका मतदातालाई प्रभावित पार्ने उद्देश्यले सडक खन्न भन्दै डिजेल बाँडेर काम गरिरहेको देखाउन खोजेका छन् । प्रदेशसभा (ख)अन्तर्गत पर्ने विकट राक्सिराङ गाउँपालिका-५ को बुखुम र ८ को मैसिराङमा बाटो खन्न र मर्मत गर्न भन्दै उम्मेदवार बानियाँले २०० लिटर डिजेल पठाएको भन्दै कांग्रेस राक्सिराङका सचिव महेश चेपाङले सामाजिक सञ्जालमा तस्बिर र भिडियो सार्वजनिक गरेका छन् । उनले गाउँको बाटो खन्न डिजेल सहयोग गर्ने बानियाँलाई भोट दिएर विजयी बनाउन अनुरोध समेत गरेका छन् ।
व्यवसायीसमेत रहेका उम्मेदवार बानियाँको डिजेल सहयोगमा र सोही क्षेत्रका कांग्रेस नेतासमेत रहेका गाउँपालिका अध्यक्ष राजकुमार मल्लले गाउँपालिकाको डोजर चलाएर बाटो खन्ने काम भइरहेको स्थानीयले बताएका छन् ।
अघिल्लो पटक २०७४ सालमा पनि सोही क्षेत्रबाट प्रदेशसभा सदस्यमा निर्वाचित बानियाँले आफ्नो कार्यकालमा विकट गाउँमा सडक खन्ने काममा चासो नदिएकोे तर निर्वाचनको मुखमा काम गरेको जस्तो देखाउन डिजेल बाँडेर मतदातालाई प्रभावित पारेको भन्दै स्थानीयले विरोधसमेत जनाएका छन् ।
यसअघि गत भदौमा निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा कांग्रेस बाग्मतीका सभापतिसमेत रहेका बानियाँले मतदातालाई प्रभावित पार्ने उद्देश्यले जिल्लाको विकट मानिने मनहरि गाउँपालिका– ४, ५ र ६ मा स्थानीयलाई जम्मा गरेर ५०० परिवारलाई प्रतिपरिवार १ बोरा चामल र १ पोका मस्यौरा वितरण गरेका थिए । यसअघिका निर्वाचनहरूमा पनि उम्मेदवार बानियाँले मतदाता प्रभावित पार्ने काम गरेका थिए ।
यसैगरी गएको शनिबार आयोगको आचारसंहिता उल्लङ्घन गर्दै मनहरि गाउँपालिका अध्यक्ष रञ्जन कालाखेती उम्मेदवार बानियाँको घरदैलो अभियानमै हिँडेका थिए । गाउँपालिका अध्यक्ष कालाखेती प्रदेशसभा सदस्य उम्मेदवार बानियाँलाई जिताउन मत माग्दै घरदैलो अभियानमा हिँडेका हुन् । आयोगले स्थानीय तहका जनप्रतिनिधिले आफू निर्वाचित स्थानीय तहमा कुनै पनि दलको उम्मेदवारको पक्षमा प्रचारप्रसार गर्न नपाउने जनाएको छ ।
निर्वाचन आचारसंहिता उल्लङ्घन गर्दै चुनाव प्रचारप्रसारमा स्थानीय तहका पदाधिकारी लागेको पाइएमा आवश्यक कारबाही हुने आयोगले चेतावनी दिँदै आए पनि जनप्रतिनिधिहरू चुनावी प्रचारमा हिँडेका हुन् । यता, जिल्लामा निर्वाचनको अनुगमन अधिकृतसमेत रहेका कोष तथा लेखा नियन्त्रक कार्यालय मकवानपुरका प्रमुख कोष नियन्त्रक रमेश अर्यालले सो विषयमा कुनै जानकारी नआएको बताए । उनले यस सम्बन्धमा थप आवश्यक बुझेर मतदातालाई प्रभावित पार्ने काम भएको भए आवश्यक कारबाहीको प्रक्रिया बढाउनेसमेत बताए ।
निर्वाचन अनुगमन अधिकृत अर्यालले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको विषयमा जिल्लाका केही शिक्षकहरू विरुद्ध उजुरी परेको र स्पष्टीकरण सोधेर आवश्यक कारबाहीको प्रक्रिया सुरु भइसकेको समेत जानकारी दिए । उनले जिल्लामा आचारसंहिताविपरीत भए/नभएका कार्यहरूलाई आयोगले नजिकबाट निगरानी गरिरहेको जानकारी दिँदै उम्मेदवारले आचारसंहिताविपरीतका कार्यहरू गरे उम्मेदवारी रद्द हुन सक्ने समेत स्पष्ट पारे ।
यसैगरी जिल्लाका निर्वाचन मुख्यअधिकृत ऋषिराम निरौलाले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, भयरहित र पारदर्शी बनाउन जिल्लामा मतदान केन्द्र र स्थलको निरीक्षण गर्ने कार्य भइरहेको जानकारी दिए । १० वटा स्थानीय तह रहेको जिल्लामा ३६४ वटा मतदान केन्द्र र १६७ वटा मतदानस्थल कायम रहेका प्रदेश निर्वाचन कार्यालय हेटौँडाले जनाएको छ । प्रत्यक्षतर्फ २ प्रतिनिधिसभा र ४ प्रदेशसभा क्षेत्र रहेको मकवानपुरमा ३ लाख ७३३ मतदाता छन् । जसमा १ लाख ५३ हजार ५२८ जनापुरुष, १ लाख ४७ हजार २०० महिला तथा ५ जना अन्य समूहका मतदाता छन् । ग्त वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा जिल्लामा २ लाख ९४ हजार ९१९ मतदाता थिए ।